ओझेल भित्रका सचेतना अभियान
No icon

बालिकाले व्यवसायबाट वहार ल्याउँदै

बालिका वलीले दाङकाे लमही वडा नं.३,वनगाउँमा टाइगर हिल्सन गार्मेन्ट सुरु गरेकाे पनि एक दशक पुग्न आँट्याे ।

१० लाख रुपैयाँ पुँजीबाट सुरु गरेकाे उक्त गार्मेन्टकाे यतिबेला ढाई कराेड लगानी पुगिसकेकाे छ । बजारमा ३० देखि ४० लाख बक्याैता उठ्न बाँकी नै छ । 

उनले आफ्नाे गार्मेन्टमा ४० जना महिला तथा पुरुषलाई प्रत्यक्ष राेजगार दिएकी छिन् । आफू समेत स्वराेजगारी भएकी छिन् ।

४ वटा सिलाई मेसीनबाट सुरु भएकाे उक्त गार्मेन्टमा यतिबेला २८ वटा सिलाई मेसीन छन् । कटिङ मास्टरका रुपमा भारतीय कारिगर भएपनि सिलाईमा स्थानीय महिलाहरु संलग्न रहेका छन् । उनकाे गार्मेन्टमा कटिङ कारिगरले सुरुआती समयमा ८/९ हजार तलव सुविधा लिएपनि यतिबेला भारत रुपेडियाका माेहमद रिजवानले महिनामा ४०/५० हजार रुपैयाँ तलव थाप्ने गरेकाे बताए । 

बालिका भन्छिन्-नेपालमा,नेपाली कटिङ् मास्टरहरुकाे अभाव छ । नेपाली कारिगरहरु भेटिएपनि निरन्तर कर्मशील र लगनशीलताकाे अभावले टिक्ने अवस्था छैन । नेपाली युवाहरुलाई नेपालमै टिकाउनका लागि गार्मेन्टसम्बन्धि तालिम र बजार व्यवस्थापनमा संलग्न गराउन सकेमा उत्तम हुने थियाे । 

सिलाई गर्ने महिला मजदुरहरुले प्रतिगाेटाका दरले तलव प्राप्त गर्दा महिनामा न्यूनतम १० हजारदेखि १९ हजार रुपैयाँसम्म कमाउने बालिकाले सुनाइन् । 

उनकाे गार्मेन्टमा स्कुल ड्रेस,स्पाेर्ट सर्ट, हाफ पाईन्ट,लेडीजका कुर्था, सलवार, आउटर, मेक्सी, गाउनलगायतका सामग्री उत्पादन हुने गर्छ । 

१८ वर्षे बैवाहिक जीवनयात्रा टुटेपछि उनले साे गार्मेन्ट उद्याेग सञ्चालन गरेकी हुन् । जेठाे छाेराेले आइटी पढेर वैदेशिक राेजगारका लागि अष्ट्रेलिया पुगेका छन् । कान्छाे छाेराे कक्षा-११ काे परीक्षा दिईसकेका छन् । 

काेराेना कालमा बालिकाले मास्क बनाएर स्थानीय लमही नगरपालिकालाई सहयाेग पुराएकाे संस्थापक नगर प्रमुख कुलबहादुर केसीले बताए । बजारमा मास्ककाे हाहाकार हुँदा सामाजिक सेवाभाव देखाई बालिकाले कपडा मास्क तयार गरि बितरण गरेकी थिईन् । 

बालिकाले बैंकबाट कर्जा लिई गार्मेन्टमात्र सुरु गरेकी छैनन् बरु गार्मेन्ट का लागि ढाईतले घरसमेत निर्माण सम्पन्न गरेकी छिन् । साेही घरमा गार्मेन्ट सञ्चालन गर्दै आएकी छिन् । 

 

मिहिनेती तथा परिश्रमी बालिकाकाे गार्मेन्ट अवलाेकनपछि लुम्बिनी प्रदेश मुख्यमन्त्रीका ग्रामीण विकास विज्ञ युवराज घिमिरेले भने- बालिकाकाे शाहस,हिम्मत र लगनशीलताले व्यवसायिक सफलता प्राप्त गरिरहेकाे छ । सरकारले सुलभ र सस्ताे व्याज दरमा कर्जा उपलब्ध गराएमा उनीजस्ता व्यवसायीले थप उन्नति र प्रगति गर्ने देखिन्छ । 

बालिकाले किशाेरी अवस्थामा नै विहे गरि फुर्सदमा पछुताउनु परेकाे बताईन् । त्यसैले उमेर पुगेपछि बिहे गर्नुपर्नेमा उनकाे जाेड छ । 

व्यवसायमा सफलता हासिल गर्दै गरेकी बालिकाकाे गार्मेन्ट उत्पादनले दाङ, प्युठान,राेल्पा, रुकुम, बाँके, कपिलवस्तुका बजारमा हस्तक्षेपकारी बजारीकरण गरिरहेकाे छ । आएकाे आम्दानीले बैंक कर्जा,कारिगार, श्रमिकहरुलाई तलव,भत्ता र सरकारलाई राजस्व तिरेकी छिन् । यतिबेला वार्षिक डेढ कराेड बढी काराेवार गरेता पनि गार्मेन्टका लागि चाहिने थ्रीफेस लाइन नहुँदा मेसीनहरु स्मूथ्ली चल्न सकेका छैनन्, व्यसायिक घाटा व्यहाेर्न परेकाे सुनाईन् । 

गार्मेन्ट अवलाेकनका क्रममा पुगेका लुम्बिनी प्रदेश सरकार,मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार लक्ष्मण ज्ञवालीले गार्मेन्टलाई आवश्यक रहेकाे थ्रीफेस विद्युत सेवा चाँडै नै उपलब्ध गराउने प्रतिवद्वता जनाए । 

नाै वर्षअघि सम्बन्ध विच्छेदकाे पीडा भाेगेकी बालिकाले जीवनकाे उकाली, ओरालीमा हजार हण्डर खाएपनि व्यवसायिक जीवनबाट सगरमाथाकाे चुचुराे चुम्ने सपना साँचेकी छिन् । 

बालिकाले आफ्नाे जीवनमा गार्मेन्ट व्यवसायबाट वहार ल्याउँदैछिन् ।

Comment As:

Comment (0)