Hamro Goreto
नेवार समुदायको संस्कृति संरक्षणका लागि ‘नेवारी भोज र सांस्कृतिक कार्यक्रम’
Monday, 20 Jan 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

बुटवल, ६ माघ । लायनेश क्लव अफ बुटवलले नेवारी संस्कृतिको संरक्षण र प्रवद्र्धनकालागि सोमबार बुटवलमा ‘नेवारी भोज तथा सांस्कृतिक कार्यक्रम’ गरेको छ । नेवार समुदायले मनाउने पर्व तथा आजापुजा, बिवाह ब्रतबन्धमा हुने भोज भतेरमा परम्परागत पद्धती अवलम्बन गर्दै नेवारी भोज तथा सांस्कृतिक कार्यक्रम गरिएको हो ।

विश्वहिन्दु महासंघको हलमा भएको कार्यक्रमको उद्घाटन गर्दै रोटरी क्लवका मल्टिपल काउन्सील चेयर प्रसन सुनिल ओझाले सबै जातजातीमा हुने संस्कृतिको आ–आफ्नै महत्व हुने बताउनु भयो । उहाँले त्यस्ता कला तथा संस्कृतिको संरक्षणकालागि सम्बिन्धित समुदायले नै अग्रसरता देखाउनु पर्ने बताउँदै नेवारी संस्कृतिको संरक्षणकालागि कार्यक्रम गरेकोमा लायनेश क्लव अफ बुटवललाई धन्यवाद ज्ञापन गर्नुभयो ।

क्लवकी अध्यक्ष पुजन श्रेष्ठले नेवार समुदायको परम्परादेखी हुँदै आएको संस्कृति बिस्तारै हराउँदै जान लागेकाले त्यसको संरक्षण र प्रवद्र्धनकालागि कार्यक्रम गरिएको जानकारी गराउनु भयो । यस क्षेत्रकै पुरानो महिलाहरुको क्लवले यहाँको सामाजिक रुपान्तरणको अभियानमा काम गर्दै आएको बताउँदै उहाँले नयाँ पुस्तामा पनि आफ्नो संस्कृतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको र यस्ता कार्यक्रमलाई निरन्तर रुपमा गर्दै अंगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै लायन्स क्लवका पूर्व डिष्ट्रिक्ट गभर्नर महेन्द्र नारायण श्रेष्ठ र नेवा पुचः बुटवलका अध्यक्ष काजिमान श्रेष्ठले नेवार समुदायको संस्कृति बिस्तारै हराउँदै गएको वेलामा लायनेश क्लवले गरेको यो कार्यक्रमले पुरानो पुस्तालाई आफ्नो संस्कृतिको बारेमा सम्झाउने र नयाँ पुस्तालाई जानकारी गराउने काम गरेको बताउनु भयो ।

कार्यक्रममा लायन्स क्लव अफ बुटवलका अध्यक्ष नरेशकुमार श्रेष्ठ, लियो क्लव अफ बुटवलका अध्यक्ष अविनाश श्रेष्ठ, कार्यक्रम संयोजक क्लवकी तृतीय उपाध्यक्ष मेनका श्रेष्ठ, क्लवकी सचिव मीना श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।

नेवारी भोज तथा सांस्कृतिक कार्यक्रममा चिउरा, भटमास, आलु, तामा, बोडी, सिमी, मिक्वा, टमाटर, सोयाविन, मासु लगायतका बिभिन्न नेवारी परिकार राखिएको थियो भने कुमारी नाच, मञ्जुश्री, सिसया हेगु, लिंखहोया, सिमाखानाच, छ्यापुँजु, जीगुबैस खल लगायत नेवारी संस्कृतिका नृत्यहरु प्रदर्शन गरिएको थियो ।

नेवारी समुदायमा बारा, माछा, मासु, रक्सी र अण्डालाई पञ्चतत्वका रुपमा लिईन्छ । त्यस्तै प्यालामा राख्दा रक्सिमा रहेका किटाणुहरु नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैले त्यस समुदायमा रक्सिलाई सगुनको रुपमा लिइने नेवार समुदायका विज्ञहरु बताउँछन् ।