Hamro Goreto
न्तान थरि–थरिका
Sunday, 24 May 2026 23:30 pm
Hamro Goreto

Hamro Goreto

 

 

                                          प्रकाशप्रसाद उपाध्याय

 

हाम्रो देश बहुल जाति, धर्म र संस्कृतिले भरिएको देश हो । यो एक यस्तो फुलबारी हो जहाँ फुल्ने विभिन्न धार्मिक एवम् सांस्कृतिक परम्पराका पूmलले नैसर्गिक सुन्दरताको वातावरण उत्पन्न गर्ने गर्दछन् । विभिन्न जातजातिका मानिसहरूको बसोबास रहेको हुँदा नेपालको संविधानले पनि यसलाई एउटा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष, सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक संघीय गणराज्यको संज्ञा दिएको छ । यी जातजातिहरूमा हिन्दू, बौद्ध एवम् मुसलमानहरूको संख्या बढी पाइन्छ ।

 

नेपालको संविधानमा भनिएअनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषित भएपछि कवि व्याकुल माइलाद्वारा रचिएको गीतलाई एक समारोहका बीच राष्ट्रिय गीतका रूपमा स्वीकार गरियो जसका शब्दहरू यस प्रकार छन् – 

 

सयौं थुँगा फुलका हामी एउटै माला नेपाली

 

सार्वभौम फैलिएका मेची–महाकाली ।।

 

प्रकृतिका कोटी–कोटी सम्पदाका आँचल्

 

वीरहरूका रगतले, स्वतन्त्र र अटल ।।

 

ज्ञानभूमि, शान्तिभूमि तराई पहाड, हिमाल

 

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।।

 

बहुल जाति, भाषा, धर्म संस्कृति छन् विशाल

 

अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।।

 

नेपाल शब्दले एउटा कालखण्डमा, विशेषगरी मल्लहहरूका शासनकालमा, काठमाडौ खाल्डोलाई बुझाउँदथ्यो । यद्यपि विभिन्न इतिहासकारले नेपाल को सम्बन्धमाअनेक ऐतिहासिक कुराको उल्लेखगरेका छन् । कसै–कसैले ‘नेपाल’ शब्दको उत्पत्ति नेवार समुदायद्वारा उच्चारणगरिने ‘नेपा’ शब्दबाट भएको बताउने गर्दछन् । थामस योङ्ग र जर्ज ग्रीयर्सनको तर्कानुसार नेपाल नेवार शब्दको मूल ‘न्यार्वा’ भन्ने शब्द हो । (नेपालको भौगोलिक रूपरेखा, ले. विश्व श्रेष्ठ, पृष्ठ २) । प्रसिद्ध इतिहासकार ढुण्डिराज भण्डारीका अनुसार गण्डकी माहात्म्यमा ‘ने’ नाम गरेका एक शिवभक्त राजाको उल्लेख पाइन्छ । यिनै नेप राजाले नेपालको निर्माण गरे भन्ने उल्लेख पाइन्छ ।

 

‘पारस्य विजयी नेपः शिवभक्तो महामतिः ।

 

समाराध्य शिवं तत्र नेपालस्तेन निर्मितः ।।’ गं. मा.

 

इतिहासकार प्रा. तोत्रराज पाण्डेय एवम् प्रा. नयराज पन्त आफ्नो कृति ‘नेपालको संक्षिप्त इतिहास’मा लेख्दछन् – “उहिले नेपालमा भूमिगुप्त आदि गरिएका गोपालवंशी राजाहरूले ११ पुस्तासम्म राज्य गरे । त्यसपछि ३२ पुस्तासम्म यलम आदि गरिएका किरातवंशी राजाहरूको नेपालमा रजाइँ चल्यो । उस बेलाको शासन प्रायः सानो–सानो प्रान्तमा सीमित रहेको हुन्थ्यो । शाक्यहरूको उहिले बुटौल तराईमा प्रजातन्त्र राज्य थियो । त्यहाँको राजधानी कपिलवस्तु (बुटौल तौलिहवाको निग्लिहवा) मा राजा शुद्धोदन बस्तथे ।” एक अर्को वृत्तान्तअनुसार इतिहासको एक कालखण्डमा नेपालमा राज्य गर्ने गोपालवंशी राजाहरू शिवभक्त थिए । ‘नेप’ नाउँ गरेका गोपालले पशुपतिनाथको प्रतिष्ठा गरी यस देशको नाम नेपाल राखे ।

 

यस सम्बन्धमा इतिहासविद् नेमसिंह नकर्मी लेख्दछन्– ‘मल्ल कालसम्म नेपाल मण्डलको नामबाट सुरु भएको नेपाल राष्ट्रको सिमाना पूर्वमा सुनकोशी, तामाकोशी, दुधकोेशी, लिखु र अरूणसम्म पुगेको थियो । पश्चिममा त्रिशूलगंगा, बुढीगण्डकी, उत्तरमा नीलकण्ठ, शिवपुरी, चीन सीमा र दक्षिणमा चुरिया पहाड श्रृँखला, मकवानपुर हेटौंडासम्म फैलिएको थियो ।’ (काठमाडौं उपत्यकाका विश्व सम्पदाहरू, पृष्ठ ६ ) ।

 

इतिहासकार ढुण्डिराज भण्डारी लेख्दछन् – ‘नेपाल’ शब्द प्राचीन कालदेखि हिमवत्खण्डको सांस्कृतिक एकताको प्रतीक रहँदै आएको छ । किरात, खस, मगर, तामाङ, गुरुङ्ग, राई, लिम्बू ,भोटे, ब्राह्मण, ठकुरी, क्षेत्री, वैश्य, शूद्र आदि सबै वर्ण र जातिको आचार–विचार, रीति–रिवाज, धार्मिक विधि–विधान, सामाजिक आदर्श आदि सबैकोे प्रतिनिधित्व एउटा ‘नेपाल’ शब्दले गरेको छ । यदि युगद्रष्टा पृथ्वीनारायण शाहले एकीकरणपछि ‘नेपाल’ नाम नराखेर ‘गोर्खा’ नाम नै कायम राखेको भए सबैको अहम्मा आघात पर्दथ्यो र सांस्कृतिक एकता कायम हुने थिएन ।’ (नेपालको आलोचनात्मक इतिहास, तृतीय खण्ड, अध्याय १ )

 

वर्तमान कालमा सामाजिक सद्भाव र मानवीय गुणले परिपूर्ण यहाँका बौद्ध धर्मावलम्बी हुन् वा हिन्दू आर्यहरू, सबैले एकार्काका देवीदेवतालाई पूज्दछन्, तिनको दर्शन गर्न पुग्दछन् र विभिन्न मठहरूमा रहेका मगर पुजारीहरूका हातबाट टिका थाप्दा ब्राम्हणहरू पनि गर्व अनुभव गर्दछन् । मिथिलाञ्चलका अनेक गाउँहरूमा सल्हेशको मन्दिर हेर्न पाइन्छ । जसमध्ये धनुषा जिल्लाको बेलापट्टिको मन्दिर विशेष रूपमा चर्चामा रहने गरेको छ । किनभने वर्षेनी यहाँ मेला लाग्ने र लोकनृत्यहरूको आयोजना हुने गरेको पाइन्छ । सल्हेशको सम्बन्ध दुसाध जातिसित रहेकोे हुँदा धनुषा जिल्लाको बेलापट्टिको मन्दिरको पुजारी दुसाध रहेको पनि प्रसङ्ग पाइन्छ । (डा. जगमान गुरुङ्ग, रुपान्तरण –७, प्रज्ञा प्रतिष्ठान, कमलादि, काठमाडौं ) । यस प्रकारको धार्मिक आस्था र पारस्परिक सद्भावले नेपाली संस्कृतिलाई साझा संस्कृतिको रूपमा सुसमृद्ध गरेको पाइन्छ । हाम्रा विभिन्न मठ–मन्दिरहरूमा मगर, दुसाधका अतिरिक्त अन्य जातिका पुजारीहरू पनि भेटिनाले के बुझिन्छ नेपाली जनमानसमा धर्मको मामिलामा सहनशीलताको भाव विद्यमान छ । 

 

बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हुनाको साथै वर्णाश्रममा आधारित समाज भएको मुलुक हो नेपाल । हिमाली क्षेत्रमा शेर्पा, गुरुङ्ग र मगरहरूको अधिकता छ । यसको अतिरिक्त राई, लिम्बु, थकाली, लेप्चा, जिरेल, भुजेल, थामी, ह्योल्मो आदि प्रमुख रूपमा बसोबास गर्दछन् । यिनीहरूको संस्कृति, धर्म, चाडपर्व र विवाहसम्बन्धी आफ्नै परम्परा छ । यी जातजातिहरूमा हिन्दू, बौद्ध एवम् मुसलमानहरूको संख्या बढी पाइन्छ ।

 

नेपालको जातीय व्यवस्थामा राणाकालमा लागू गरिएको वर्गीकरण र मुलुकी ऐनले ठुलो प्रभाव पारेको देखिन्छ । सन् १८५४ को मुलुकी ऐनद्वारा नेपालको जातीय संरचनालाई पाँच भागमा बाँड्ने काम गरियो । यिनीहरू सबैका आफ्ना भाषा छन् र सबैले परम्परागत रूप र जीवन शैलीको अनुरूप आफ्ना चाडपर्व मनाउँदछन् । यस सन्दर्भमा वरिष्ठ आदिवासी नेता तथा वामपन्थी बुद्धिजीवि परशुराम तामाङ लेख्दछन् – ‘सन् २००१ को जनगणनाअनुसार नेपालमा आठभन्दा बढी धर्म छन् भन्ने देखिन्छ । मासिने मतवाली र अछुतहरूलाई आफ्नै शरीरमाथि अधिकार थिएन र परिणामतः उनीहरूलाई सम्पत्तिमाथि अधिकार थिएन । तसर्थ नेपालको सन्दर्भमा मतवाली र अछुुतहरू कानुनी सर्वहारा हुन् र अहिले गरिब भन्नु र मासिने मतवाली तथा अछुतहरू भन्नु एउटै हो ।’ (हाम्रो नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र, पृष्ठ ५७) ।

 

नेपालको कुल जनसंख्यामा जनजातिहरूमध्ये मंगोल, एसियाटिक र द्रविड समूहमा ४५ वटा आदिवासी जनजातिहरूको उल्लेख पाइन्छ र तिनको प्रतिनिधित्व ३७.२ प्रतिशत छ । यस समूहमा गुरुङ्ग, मगर, तामाङ्ग, राई (किराँत), लिम्बू, थारू र नेवार पर्दछन् । 

 

लेभीलाई उद्धृत गर्दै दीपक चौधरी लेख्दछन्– ‘वंशावलीलाई विश्वास गर्ने हो भने नेवारहरू उपत्यकामा सन् १९०६ पछि भारतको डेक्कनमा रहेको कर्णाटकका राजा नान्यदेवको नेतृत्वमा नेपाल पसे । गोपाल सिंह नेपालीले दक्षिण भारतको नायर क्षेत्रबाट नान्यदेवसँग आएका नायरहरू

नेवार हुन् भनेका छन् । सन् १९६६ मा कोलिन रोजरले काठमाडौं, ललितपुर र ठिमीमा गरेका विस्तृत अध्ययनबाट नेवार समुदायमा २६ जातिहरू देखिएको छ ।’ (नेपालको मधेशी समाज, पृष्ठ ५) । यसो हुँदा नेवारहरूमा बौद्ध तथा हिन्दूमार्गीहरू दुवै पाइन्छन् । बौद्ध धर्मावलम्बीहरूमा बज्राचार्य शाक्य, अमात्य, ताम्राकार, तुलाधर, मानन्धर, नापित र तण्डुकारहरू पर्दछन् भने हिन्दूतर्फ राजोपाध्याय, आचारजु, उपाध्याय, गुभाजु आदि भेटिन्छन् । श्रेष्ठ र ब्राह्मण नेवारमा जनै लगाउने गरिन्छ । तर नेपालको जातीय व्यवस्थामा राणाकालमा लागू गरिएको मुलुकी ऐनमा नेवार ब्राह्मणलाई छेत्रीभन्दा मुनि राखिएको छ । पेशागत जातिको रूपमा नेवार समुदायमा श्रेठ, मल्ल, जोशी ,प्रधान, राजभण्डारी, अमात्य, मास्के र राजवंशी रहेका छन् भने खेतीपातिको क्षेत्रमा ज्यापूहरूको अधिकता छ । यस किसान–समूहमा महर्जन, डङ्गोल, सुवाल, सापु, अवाले, कसजु, भुजु, मुसा र लवत आदि पर्दछन् । दलितहरूमा कसाई, पोडे देउला, खड्गी, भा र कुसुलेहरू पानी नचल्ने जातका रूपमा रहेका छन् । ‘तर कुसुलेहरू देवी–देउताको मन्दिरमा पुजारी रहँदै आएका छन् ।’ (नेपालको मधेशी समाज, पृष्ठ ६) । 

 

बौद्ध धर्ममाथि आस्था राख्ने शेर्पा, तामाङ्ग र गुरुङ्ग जातिका चाडपर्व, विशेषगरी उनीहरूले नयाँ वर्षको रूपमा मनाउने ल्होसार पर्व, ले नेपाली संस्कृतिलाई एउटा रङ, एउटा उँचाई प्रदान गरेको छ । यिनीहरूका पूजास्थल, मठ र विहार (बुद्ध विहार) हरू हुन् । यिनीहरूका चाडपर्व, परिधान, आभूषण र नाचगानले देशको संस्कृतिलाई सम्पन्न बनाउनमा सहायता पु¥याएका छन् । बौद्धधर्मावलम्बी भए पनि बालकको जन्मदेखि लिएर जीवनको अन्त्यकालसम्मका यिनीहरूका संस्कारहरू हिन्दूहरूको जस्तै देखिन्छ र अन्नप्राशन, चूडाकर्म, पाणीग्रहणलगायत अन्त्येष्टिसम्मका अवसरहरूमा सम्पन्न गरिने विशेष अनुष्ठानहरूले देशको सांस्कृतिक भण्डारको श्रीवृद्धि गरेका छन् । विवाहलाई हरेक समुदाय, जात वा वर्णका परिवारको एक अनिवार्य र महत्वपूर्ण संस्कार मानिन्छ । एकजना युवकद्वारा एक युवतीलाई पत्नीको रूपमा विधिपूर्वक वरण गरिने सामाजिक संस्कार विवाह भनाउँदछ, जसमा समस्त परिवारजन, करकुटुम्ब र मित्रजनको उपस्थितिले त्यस अनुष्ठानलाई मान्यता दिइरहेको हुन्छ । यौवनावस्थामा पुग्दा उत्पन्न हुने कामवासना र यौनेच्छाले समाजमा कुनै किसिमको उच्छृंखल वा अनैतिक क्रियाकलापको वातावरण उत्पन्न नहोस्, भनेर युवक युवतीलाई विधिपूर्वक विवाहको लगनगाँठोद्वारा गृहस्थाश्रममा प्रवेश गराइन्छ । यस वैवाहिक क्रियाकलापमा केटा वा केटीको चयन हिन्दू समाजमा बाबुआमा वा करकुटुम्बले गर्ने गर्दछन् भने जनजातिहरूमा मागी विहे, प्रेम विवाह, चोरी (भागी) विवाहको पनि परम्परा छ । कुनै कुनै समदायमा बाबुआमाले पनि केटा केटीको चयन गर्दछन् । गरुङ्ग समुदायमा रोदीघर प्रेम विवाहको एउटा स्थल वा आधार बनेको देखा पर्ने गर्दछ । हिन्दूहरूमा सगोत्री युवकयुवतीहरूको विवाह वर्जित छ, तर केही जातिहरूमा मागी विवाह मामाचेला फुपुचेली बीच गर्ने पनि चलन छ । यसरी विवाह गर्ने तरिका र अनुष्ठानको शैलीमा विभिन्न समुदायहरूका बीच भिन्नता पाइए तापनि छोराछोरीलाई वैवाहिक सम्बन्धको लगनगाँठोमा बाध्न लगाउनु हरेक मातापिताको सामाजिक एवम् पारिवारिक दायित्व ठहर्दछ । उनीहरू आफ्नो वंश परम्पराको निरन्तरताका लागि पनि विवाहलाई एक अनिवार्य अनुष्ठान मान्दछन् ।

 

मङ्गोल र किराँत वर्गका जनजातिहरू अधिकांशतः पहाडमा फैलिएर बसेका छन् । यिनीहरूका आफ्नै भाषा, संस्कृति, खानपान र रहनसहन छ । यसरी नेपाली संस्कृतिको संरचनामा कुनै एक जाति वा समुदायविशेषको मात्र योगदान नरही नेपाली समाजमा मिलेर बस्ने हिमाल, पहाड र तराई÷मदेसका विभिन्न जातजातिहरूको उल्लेखनीय योगदान रहेको छ । यसलाई हिन्दू, बौद्ध र इस्लाम धर्मावलम्बीहरूका अतिरिक्त उपर्युक्त जातजातिहरूका जनजीवन, खानपान, धार्मिक रीतिरिवाज एवम् वेषभूषाले समृद्ध गरेका र सिङ््गारेका पाइन्छ । यी विभिन्न जाति तथा धर्मावलम्बीहरूले आ–आफ्नो सांस्कृतिक पहिचान गराउन जातीय तथा धार्मिक चाडपर्वका अवसरमा सामूहिक वा पारिवारिक रूपमा कार्यक्रमहरूको आयोजना गरी आफ्नो सम्पन्न संस्कृतिको झलक प्रस्तुत गर्ने गर्दछन् ।

 

हिन्दू धर्मको वर्णव्यवस्थाअन्तर्गत चार भागमा बाँडिएको समाजमा शूद्र र अछूत भनाउने वर्ग पनि छ, जो दलित वर्गमा पर्दछन् । सन् २००१को जनगणनामा यिनीहरू नेपालको जनसख्याको ३.९प्रतिशत रहेको बताइएको छ । यो वर्ग समाजमा उपेक्षित, उत्पीडित र शोषित हुनाले आर्थिक रूपमा कमजोर छ । यिनमा डोम, चमार, मुसहर, हलखोर आदि पर्दछन् । यी सबैमा डोमलाई सबैभन्दा तल्लो स्तरमा राखिन्छ, अस्पृश्य मानिन्छ तर समाजको लागि उपयोगी पनि ठानिने हुँदा गाउँको एउटा किनारमा कुनै डबरा वा जलाशयको तटमा बस्न जमीन दिने गरिन्छ । यिनीहरू पेसागत रूपमा फोहोर सफा गर्ने र बाँसका पातला पत्ती र मोटा सिन्काले नाङ्ला, ढक्की, डाला, सखारी आदि बनाउने र बेच्ने गर्दछन् । अस्पृश्य जातका मानिए पनि यिनले बनाएका यी वस्तुहरू हिन्दू समुदायका उच्च जातिले विवाह, व्रतबन्ध, छठ आदि चाडपर्वका अवसरमा किन्ने गर्दछन् र तिनमाथि सुनपानी छर्कँदै शुद्ध घोषित गर्ने र उपयोगमा ल्याउने गर्दछन् ।

 

सन् २००१ को राष्ट्रिय जनगणनाअनुसार नेपालका १०३ जनजाति छन् । वर्णाश्रम व्यवस्थाअधीनपर्ने उच्च जात समूहमा पर्ने जातहरूको संख्या नेपालको कुल जनसंख्याको ३२.८ प्रतिशत छ । तराईका मध्यजात समूहमा रहेका २५ जातको संख्या १२.९ प्रतिशत छ र दलित (शिल्पकार) समुदाय, खासगरी शूद्र जात समुदायका पन्ध्र वटा जातहरूको प्रतिनिधित्व कुल जनसंख्याको ११.८ प्रतिशत छ । सन् २०१२ मा भएको अध्ययनले तराई–मधेशका दलितमध्ये ८८.२ प्रतिशत भूस्वामित्वका हिसाबले राष्ट्रिय औसतभन्दा तल भएको स्पष्ट देखिएको छ भने ४४ प्रतिशत दलित पूर्ण रूपमा भूमिहीन छन् । (सोहन प्रसाद साह ÷देवराज हुमागाईं, मधेश प्रदेशमा पैदल अनुसन्धान ।

 

नेपालमा दलित शब्दको प्रयोग वि. सं. २०५८बाट सुरु भएको बुझिन्छ । छिमेकमा स्वाधीनता आन्दोलन चलिरहेका बेला सन् १९०० तिर दलित शब्दको प्रयोग भएको पाइएपछि नेपाल सरकारले पनि यस शब्दलाई अपनाउँदै ‘२०५८ साल चैत्र ५ गते राष्ट्रिय दलित आयोगको स्थापना ग¥यो । तदुपरान्त उक्त आयोगले दलितको परिभाषा र दलितको जातीय सूची निर्धारण गरेर २०६० सालमा दलित परिभाषा तथा जातीय अनुसूचि अध्ययन प्रतिवेदन जारी ग¥यो ।’ (दानबहादुर विश्वकर्मा, शिल्पी समुदायको वृहत् इतिहास, पृष्ठ १२५) ।

 

नेपाल दलित आयोगले मदेसका १७ वटा समूहलाई मदेसी दलित भनी सूचीकृत गरेको पाइन्छ तर जनगणनामा १४ दलितहरू (वर्ग) को उल्लेख पाइन्छ । (दीपक चौधरी,पृष्ठ ११२) । यी हुन्– चमार, मुसहर, दुसाध, तत्मा, खत्वे, धोकी, बातर, चिडिमार, डोम, हलखोर, पासी, कोरी, खटिक र कसबन्धिया÷पत्थरकट्टा । यी सबै दलित वर्गका भए पनि यिनीहरूको पेसा र व्यवसाय छुट्टाछुट्टै हुन्छन् । विभिन्न संस्कृति र जातजातिका बोट–बिरुवाले सिँगारिएको नेपालको वृहत् सामाजिक उद्यानलाई गरिमामय बनाउने थारू जातिले देशलाई प्राचीनकालदेखि नै गौरवान्वित गर्दै आएका छन् । यद्यपि यस जातिको उद्गम स्थल र विकासको सम्बन्धमा इतिहासकारहरूको विभिन्न मत छ । पूर्व झापादेखि पश्चिममा कञ्चनपुर, उत्तरमा सुर्खेत उपत्यका र मदेसको उत्तरी भाग र चुरे महाभारत बीचसम्म आबाद रहेका थारू जातिलाई यस देशका रैथाने र ऐतिहासिक जाति मानिन्छ । दीपक चौधरीले सुबोधकुमार सिंहलाई उद्धृत गर्दै लेखेअनुसार, ‘थारूहरू गौतम बुद्ध र सम्राट अशोकका सन्तानहुन् । गढीमाई तुलजा भवानी (कङ्कालिनी माई) सिम्रौनगढमा अवस्थित छ र यसको पुजारीमा थारू रहेका छन् ।’

 

बहुधार्मिक, बहुभाषिक एवम् बहुजातीय समाज रहेको नेपालमा गुरुंग, तामांग र शेर्पा जातिहरू हिमाली क्षेत्रहरूमा बस्दछन् । उनीहरूले मनाउने नयाँ वर्ष आफ्नै जातिगत पहिचान जनाउने खालको हुन्छ । यो ल्होसार वा ल्होछारको नाउँबाट जानिन्छ । ल्होसारको अर्थ पनि हुन्छ – नयाँ वर्षको उत्सव । गुरुङ्ग जातिले मनाउने ल्होसार तमु ल्होसारको नाउँबाट सुविदित छ भने तामांंग जातिले मनाउने ल्होसार सोनाम र शेर्पा जातिले मनाउने ल्होसार ग्याल्बु ल्होसारका नाउँबाट प्रसिद्ध छ । यी जातजातिका यस पर्वको नाउँ र मनाइने महिना छुट्टाछुट्टै भए पनि यिनमा निहित भावना र उद्देश्य एउटै हुन्छ । त्यो हो – नयाँ वर्ष मनाई जीवनमा खुसी ल्याउनु, वर्तमान सन्ततिलाई यी पर्वहरूको महत्व बताउँदै उनीहरूमाझ आफ्नो जातिगत संस्कार स्थापित गर्नु र आफ्ना चाडपर्वहरूमा रमाउने अवसर दिँदै तिनलाई निरन्तरता दिंंदै तिनको रक्षा गर्नु र आफ्ना ती जीवजन्तुहरू प्रति आभार व्यक्त गर्नु, जसले उनीहरूलाई विभिन्न रूपमा मद्दत पु¥याउँदछन् र संकटबाट जोगाउँदछन् । अनि दैनिक जीवनमा कुनै न कुनै रूपमा सहयोग पु¥याउने गर्दछन् । यसो हँुदा हरेक ल्होसार पर्वका साथ आउने नयाँ वर्षको नाउँ छुट्टाछुट्टै हुन्छन् र यी मुसा, गोरु, बाघ, खरायो, ड्रैगन, सर्प, घोडा, बाँदर, पंक्षी, कुक्कुर र बँदेल माथि आधारित हुन्छन् । वर्तमान समयमा यो साम्प्रदायिक सद्भावको पर्व पनि भएको छ, जसमा सबै धर्म र समुदायका मानिसहरू सरीक हुन्छन् र शुभकामनाको आदान–प्रदान गर्दै उनीहरूका खुसीमा सहभागी हुन्छन् ।

 

नेपाली समाज आदिकालदेखि नै प्रकृतिपूजक रहेको छ । प्रकृतिको हरेक संरचनाका प्रति यसको अगाध आस्था हुन्छ, सम्मान हुन्छ । पिपलको बोट होस् वा बरको, आँपको बोटका पात हुन् कि तुलसीपत्र, केराका फल हुन् वा पारिजातको फुल पुजाका लागि यी सबै उपयुक्त र पवित्र मानिन्छन् । समान रूपमा हाम्रो वरिपरिका जीव जनावर पनि समाजका लागि उपयोगी हुने हुँदा यी सबै पूजनीय मानिन्छन् र विशेष अवसरहरूमा यिनको पूजासमेत गरिन्छ । गुरुंग, तामांग र शेर्पा जातिहरूले आफ्नो नयाँ वर्षको नाउँ पनि प्रत्येक वर्ष विभिन्न जनावरहरूका नाउँमा राख्ने गरेका कारण यी जनावरहरूप्रति आफ्नो आभार व्यक्त गर्नु हो । यी जातजातिका अतिरिक्त नेवार समुदायले पनि आफ्नो नयाँ वर्षका अवसरमा विभिन्न जनावरहरूको पूजा गर्दछन् । समान रूपमा हिन्दू जातिले पनि यमपञ्चकको अवसरमा काग, कुकुर, गाई आदिको पूजा गरी यी जनावरहरूप्रति आफ्नो आस्था र श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।

 

यस प्रकार हामी के देख्दछौं भने बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएर पनि नेपाल एउटा यस्तो भूमि हो जहाँ बस्नेहरूले विभिन्न किसिमका पूmलले प्रस्तुत गर्ने इन्द्रेणीसरह ऐक्यवद्ध रही आपसी स्नेह र सद्भावको सुवासबाट समाजलाई सुवासित र अलंकृत गरिरहेका छन् । अनि यिनीहरूका सामाजिक र सांस्कृतिक परम्परामा कतै न कतै, केही न केही एकरूपता पनि भेटिन्छ ।