Hamro Goreto
पति वियोगपछि ससुराको प्रेरणाबाट डाक्टर बनेकी प्रतिभा,बनिन् समाजको ‘आइकन’
Saturday, 19 Jul 2025 00:00 am
Hamro Goreto

Hamro Goreto

 

 

रुपन्देही । पर्वतको जलजला गाउँपालिका–१ माल गाउँमा जन्मेर रुपन्देहीको रुपन्देहीको देव दह नगरपालिका भलुहीमा बस्ने प्रतिभा पाइजा गर्बुजाको १७ वर्षको उमेरमै माघी विवाह भयो ।२०५१ सालमा एसएलसी दिएर बसेकी प्रतिभाको परिवारकै सल्लाहमा २१ वर्षीय भीमबहादुर पुनसँग विवाह भएको थियो । तर विवाहपछि श्रीमान् भीमबहादुर प्रहरीमा भर्ती भए । ०५१ सालमै भर्ती भएका भीमबहादुरले ७ वर्ष काम गरेपछि बीच मै छाडे।माओवादीको सशस्त्र युद्ध बढ्दै गएपछि छाडेर २ वर्ष घरमै बसेर कोरिया लागे। त्यसपछि ७ वर्ष कोरियामा बसेका उनी जन्डिसले थलिएर नेपाल आएको १३ दिनमै ज्यान गुमाएपछि प्रतिभा एकल बनिन् ।श्रीमानसँग बिहे गरेको १३ वर्ष भए पनि प्रहरीको जागिर र कोरियाको ७ वर्ष बसाइँले उनीहरू लामो समय सँगै रमाएर बस्न पनि पाएनन् । प्रतिभाले श्रीमान् गुमाउँदा साथमा छोरी रेश्मा ६ वर्षको मात्रै थिइन् तर घरको अभिभावक, अध्ययनको मार्गदर्शकका रूपमा ससुरा बुवा गेरु पुन मगरले निरन्तर साथ दिए ।परिवारमा अन्य सदस्यको पनि उत्तिकै साथले प्रतिभाले आफ्नो कामलाई निरन्तरता दिन पाइन् । श्रीमानको असामयिक निधनले प्रतिभाको जीवनमा पीडाको आँधी ल्यायो । त्यो आँधीले उनी एक छिनको लागि हराइन्, तर समयसँगै सम्हालिइन् । त्यो वियोगलाई उनले शक्ति बनाउँदै भैरहवा बहुमुखी क्याम्पसमा नेपाली विषयमा स्नातकोत्तर अध्ययन जारी राखिन् र प्रथम श्रेणीमा उत्तीर्ण भइन् ।

 

२०५१ सालमा बुटवलको कालिका मानवज्ञान माविबाट एसएलसी दिएपछि उनी शिक्षाको यात्रामा होमिइन् । प्रवीणता प्रमाणपत्र तह पढ्दै गर्दा नै बहिरा मावि, भैरहवा, जनहित मावि, मुनलाईट, साई ग्लोबल, एम्स एकेडेमी, सिर्जना कलेज अफ फाइन आर्ट्स हुँदै हाल नेपाल खुल्ला विश्वविद्यालयमा २०७९ सालदेखि अध्यापन गर्दै आइन् ।शिक्षा क्षेत्रमै रमाएकी प्रतिभाले २०७१ सालमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट एमफिल तह ‘धौलागिरि क्षेत्रमा प्रचलित सोरठीको सन्दर्भपरक अध्ययन’ शीर्षकमा पूरा गरिन् । त्यसपछि दशकसम्मको शोध, लेखन र अध्ययनमार्फत ‘धौलागिरि क्षेत्रको प्रचलित लोककथामा लोकतात्विक प्रतिविम्ब’ शीर्षकमा विद्यावारिधि (पिएचडी) हासिल गरिन् ।श्रीमानको मृत्युपछि जीवनको लय सम्हाल्न उनलाई डेढ दशक लाग्यो । यस बीचमा उनले घर, परिवार, समाज सबै बिर्सेर पुस्तक, कलम र विचारलाई अँगालेकी थिइन् । उनी भन्छिन्, ‘पढाइ नै मेरो साथी भयो, खोज, अध्ययन र अनुसन्धान मेरा मर्मदाता ।’ पीडा भुल्ने साधन बन्यो अध्ययन । न रोइबासी गरिन्, न हार मानेर कुना च्यापिन् । बरु आफूलाई साबित गरिन्, डाक्टर प्रतिभा पुनका रूपमा ।

लोकसंस्कृति, लोकवार्ता र अनुसन्धानमा निरन्तर लागेकी प्रतिभाले ’पुर्ख्यौली लोकनाच: एक चिनारी’ (२०७५), ‘धौलागिरि क्षेत्रको अर्मूत लोकसंस्कृति: झाँक्री’ (२०७५) लगायतका कृति प्रकाशित गरेकी छन् । त्यसबाहेक सह लेखनमा ‘नेपालका प्रदर्शनकारी कला : प्रादेशिक अनुसन्धान (प्रदेश नं. ३)’, ‘नेपालका आदिवासी मगर : सन्दर्भ विवरणिका’, ‘नेपाली लोकवार्ताकोश’ प्रकाशित छन् । नेपाली लोकसंस्कृति, लोक साहित्यसम्बन्धी गीत, कविता, निबन्ध लगायतका रचना देशका विभिन्न जर्नल र पत्रपत्रिकामा प्रकाशित छन् ।अहिले उनी बागमती प्रदेशका लोकनाचको शैली, मगर भाषा र मातृभाषा शिक्षाको सम्भाव्यता, माझी र पुन मगर समुदायको लोकनाच, झाँक्री प्रदर्शनकला, सोरठी नाचको लैङ्गिक अध्ययन, महिला तथा बालबालिकामाथि हुने हिंसासम्बन्धी विभिन्न अनुसन्धान परियोजनामा गहिरो रूपमा संलग्न छिन् ।२०७५ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गरेको ’लुम्बिनी प्रदेशतर्फको प्रतिभा पुरस्कार’ उनले पाइन् । उक्त पुरस्कारले उनलाई थप उत्प्रेरित गर्‍यो । त्यसपछि उनले ‘जन सांस्कृतिक नवयुवा प्रतिभा पुरस्कार’, ‘टुक–चन्द्र दवाडी पुरस्कार’ पनि प्राप्त गरिन् ।उनको प्रेरणादायी यात्रा पर्वतको जलजला गाउँपालिका–१ माल गाउँबाट सुरु भएको हो । उनका पिता जीतबहादुर पुन मगर भारतीय सेनामा हनेरी क्याप्टेन थिए । सन्तानलाई शिक्षित बनाउने उद्देश्यले उनले रुपन्देहीको देव दह नगरपालिका, भलुहीमा बसाइँ सरेका थिए ।सन् २०४५ तिर त्यहीँबाट प्रतिभाको शैक्षिक जीवनले गति लिएको हो । उनी परिवारकी जेठी छोरी हुन्, तीन बहिनी र एक भाइ छन् । हाल प्रतिभाको परिवार ललितपुर–२६ मा बसोबास गर्दै आएको छ ।सँगै ९३ वर्षीय ससुरा बाबा गेरु पुन र छोरी रेश्मा छन् । ससुरा मगर संस्कार, संस्कृति र कर्मकाण्डबारे लेखनमा क्रियाशील छन् । उनले प्रकाशन गरेका पुस्तकको सम्पादन प्रतिभाले गरेकी छन् भने अर्को नयाँ पुस्तिका पनि उनी सम्पादन गर्दै छिन् ।प्रतिभाले सानैमा विवाह गर्दा पनि पढ्नुपर्छ भन्ने वाचा उनका ससुराबाट पाएकी थिइन् । पिएचडी पास गर्दा सबैभन्दा खुसी उनै ससुरा भएको उनको भनाइ छ । ‘मेरो अध्ययनको सबै स्रोत ससुरा बुवा हो, सबै सामग्री जुटाइदिने, हौसला दिने र जसरी पनि पास गर्नुपर्छ भनेर जिम्मेवारी नदिएको भए मैले डाक्टर लेख्न पाउने थिएन सायद’ उनले भनिन् ।अहिले पनि प्रतिभालाई ससुरा बुबाले निरन्तर पढ्न, लेख्न उसै गरी हौसाउँछन् । छोरी रेश्मा स्नातक चौथो वर्षमा अध्ययनरत छन् । ससुरा बाबा यो उमेरमा समेत लेख्ने,पढ्ने गर्छन् । उनले मगर जातिको संस्कार र संस्कृतिसम्बन्धी पुस्तक प्रकाशन गरेका छन् । निकट भविष्यमै मगर जातिको कर्मकाण्डसम्बन्धी अर्को पुस्तिका बजारमा आउँदै छ ।

 

सो पुस्तिकाको सम्पादन उनकै बुहारी डाक्टर प्रतिभाले गर्दै छिन् । प्रतिभालाई सानैमा बिहे गर्दा नै उनका ससुराले बुहारीले सकेपछि पढाउने वाचा गरेका रहेछन् । पिएचडी गर्दा सबैभन्दा खुसी उनै ससुरा बाबा भएको प्रतिभाले हर्षपूर्वक सुनाइन् ।लाहुरे संस्कृतिको परिवारलाई गेरुले पठन संस्कृतिमा ढालेर नयाँ रुवरुप दिएका छन् अर्थात् निवृत्त धेरै भूपूहरू र उनीहरूका परिवार विलासितामा रमाउने भए पनि यो परिवार पठन संस्कृतिमा लाग्नुको मुख्य कारण ससुरा नै भएको प्रतिभाको विश्लेषण छ ।साहसी, संवेदनशील र अध्यवसायी प्रतिभा पुनमा पीडा बोक्ने मात्र होइन, त्यसलाई शक्तिमा रूपान्तरण गर्ने अद्भुत क्षमता छ । “मनमा उम्किएका पीडालाई पढाइले भुल्न सकिन्छ,” भन्ने सोच बोकेकी उनी आज समाजका लागि प्रेरणा बनेकी छन् ।सामाजिक योगदानमा पनि उनी उत्तिकै अगाडि छिन् । लोकवार्ता परिषद् नेपालको संस्थापक कोषाध्यक्ष हुँदै हाल केन्द्रीय सचिवको जिम्मेवारीमा छन् । ‘मगर अध्ययन केन्द्र’की केन्द्रीय उपाध्यक्ष, ‘ऐजेरु नेपाल’ संस्थाकी संस्थापक सचिव भएर महिला सशक्तीकरणमा सक्रिय छन् । ‘मास्टरस् एण्ड पिएचडी ट्रस्ट फण्ड’की सचिव, ‘राष्ट्रिय भाषा तथा लोक साहित्य सङ्घ’की अध्यक्ष, साथै प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय सदस्यको हैसियतमा क्रियाशील छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गर्ने मातृ भाषी पत्रिका सयपत्रीको सङ्कलन तथा सम्पादनमा उनले आठ वर्ष बिताएकी छन् । साथै, उनी फल्चा पोडकास्टकी सञ्चालक तथा प्रस्तोतासमेत हुन् । युवा तथा महिलाहरूलाई व्यावसायिक बनाउने उद्देश्यले स्थापित ’युवा महिला व्यापार तथा व्यावसायिक सङ्घ, नेपाल’ संस्थामा उनी संस्थापक सचिव रहेर एक दशकभन्दा बढी सक्रिय भइन् । नेपाली संस्कृतिमा पुस्तकहरु कम पढ्न थालिएकोमा उनको चिन्ता छ ।उनी विभिन्न सङ्घ–संस्थाबाट प्रशिक्षक, सहजकर्ता, समन्वयकर्ता तथा सम्पादकका रूपमा समेत आबद्ध हुँदै आएकी छन् । पत्रपत्रिका र बुलेटिनहरूमा सम्पादकको भूमिका निर्वाह गरेकी प्रतिभा धेरै संस्थाबाट प्रशंसा, पुरस्कार र सम्मानित भइसकेकी छन् । देशको कुनाकाप्चादेखि परदेशसम्म पुगेर अनुभव सँगालेकी डाक्टर प्रतिभा पुन अब बाँकी जीवन शोध, अध्ययन र अनुसन्धानमा नै अर्पण गर्ने अठोटमा छन् ।

यस्तो सङ्कल्पशील, शालीन र सजग व्यक्तित्वले नेपालमा लोकसंस्कृति, मातृभाषा, महिला सशक्तीकरण र शिक्षाको क्षेत्रमा अद्वितीय योगदान दिँदै आइरहेकी छन् । डाक्टर प्रतिभा पुन एक अध्ययनशील योद्धा, जसले पीडालाई सम्भावनामा बदलिन्, र समाजका लागि उज्यालो गोरेटो बनिन् ।प्रतिभा पुराना पुस्ताले लेखेका सामग्री नयाँपुस्ताले पढ्ने गरी सिक्ने गरी इलेकट्रोनिक मोडलमा तयार गर्नुपर्ने अवस्था रहेको बताउँछिन् । ‘अबको पुस्ताले किताब खोजेर, पाना पल्टाएर पढ्दैन, उसले कसरी पढेको छ भनेर बुझेर ती सामग्री तयार गर्नुपर्दछ’ उनले भनिन् ।