Hamro Goreto
अब्बल : ओजस्वी
Friday, 27 Jun 2025 00:00 am
Hamro Goreto

Hamro Goreto

बाबाआमाकी एक्ली सन्तान हुन् ओजस्वी आचार्य । बाबा, जीवन र आमा, मिठ्ठुसँगै पाल्पा, तानसेनमा बस्छिन् । बाबाआमा दुबैले तानसेन नगरपालिका वडा नं. ९ मा रहेको दमकडा नमूना माध्यमिक विद्यालयमा शिक्षण गर्छन् । ओजस्वीले सोही विद्यालयमा कक्षा नौमा अध्ययन गर्दैछिन् । बहुप्रतिभाशाली ओजस्वीलाई यतिबेला बालबालिकाहरुले मात्र होइन, सबै मानिसहरुले उत्तिकै ध्यान दिएर सुनिरहेका छन् । हेरिरहेका छन् । उनको वाक्कला, तार्किक क्षमता, लयात्मक अभिब्यक्तिशील कलाले जनजनलाई मन्त्रमुग्ध पारेकै छ । चर्चाको शिखरमा छिन् यतिबेला । 

गएको पुषमा १२ पुगेर १३ मा टेकिन् तर उनको क्षमताले उमेरसँग कतै मेल खाँदैन । धाराप्रवाह बोल्न सक्ने खुबीको जतिसुकै प्रशंसा गरेपनि पुग्दैन । बोल्ने विषयवस्तु पाएपछि उनी केहीबेर घोत्लिछिन्, अन्तरमनमा आफै प्रश्नोत्तर गर्छिन्, विषयको गाम्भीर्यतामा आफूलाई ढाल्छिन् र प्रस्तुतिका लागि तयार भएर स्टेज उक्लिन्छिन् । त्यतिबेला वाह ! ओजस्वी, नाइस ओजस्वी ! का शाब्दिक तथा तालीबाट वर्षा हुन्छन् । दर्शक, स्रोताको स्नेहपूर्ण सम्मान, हार्दिकतापूर्ण व्यवहार र प्रशंसायोग्य वाहवाहीले ओजस्वीलाई थप उर्जा र प्रेरणा मिल्छ । त्यही भएरै त होला, दमकडा मावि, व्यवस्थापन समितिका अध्यक्ष राजेश अर्यालले ओजस्वीलाई आफ्नो विद्यालयको कोसेढुङ्गो मानेको ! 

ओजस्वीका बाबा, जीवन नै उनका भरपर्दा र असल शिक्षक हुन् । जीवनले चिच्याएर पढ्ने कितावका असल स्रोता ओजस्वी हुन् । झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ ओजस्वीले सर्वाधिक रुचाएको पुस्तक रहेछ । उनी भन्छिन्-अपाङ्गताभित्रकी सशक्त ब्यक्तित्व हुन् झमक । उनको कठिनाइपूर्ण सफल जीवनबाट मैले धेरै कुरा सिकेकी छु । मेरो प्रेरणाको पुञ्ज नै झमक हुन् । बाबाआमा मेरा उत्प्रेरक हुन् । साथीहरुका हौशला, मैत्रीपूर्ण भावना, सहयोगी व्यवहारले आज मलाई गौरव गर्ने ठाउँमा पुराएको छ । थाइल्याण्ड जानुअघि उनले ‘थाइल्याण्डमा नेपालीहरुको इतिहास’ पुस्तक पढेकी रहेछिन् । यतिबेला उनलाई ‘गुमनाम एक इतिहास, बिसे नगर्ची’ पुस्तक, लेखक दीपक तिम्सिनाले मोरङ्गबाट उपहार पठाइ दिएका रहेछन् । मैले पनि मेरो बालकवितासंग्रह ‘हाती करायो’ पुस्तक दिने वचन दिएको छु । 

ओजस्वीले थुप्रैपटक आफ्नो विद्यालय, जिल्ला र प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा श्रेष्ठता हासिल गरेकी छिन् । नगद, प्रमाणपत्र, प्रशंसापत्र, सम्मानपत्र थापेकी छिन् । एनआरएनको दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा प्रमुख वक्ताका रुपमा आफ्ना प्रभावकारी र ओजिलो प्रवचन थाइल्याण्ड र कम्बोडियामा दिएकी छिन् । यतिबेला उनी एनआरएनको सद्भावना दूत (ब्राण्ड एम्बेस्डर) छिन् । यो किशोरी उमेरमा यो किसिमको सफलता प्राप्त गर्नुलाई चानेचुने कुरा मान्न नहुने विद्यालयका प्रअ, मोहन सापकोटाको तर्क छ । ओजस्वीलाई उनी हीरा ठान्छन् दमकडा माविको । 

आफ्नै विद्यालयको रेकर्डिङ्ग स्टूडियोमा ‘बालबालिकाहरुका लागि बालबालिका कार्यक्रम’ उत्पादन र प्रशारण गर्छिन् । विद्यालयमा आउने अतिथिहरुसँग शैक्षिक अन्तर्वार्ता लिन्छिन् । भलाकुसारी गर्छिन् । छलफल गर्छिन् । उनको प्रश्न उठान गर्ने क्षमतालाई मान्नै पर्छ । त्यहि भएर त होला शैक्षिक अभियन्ता अभिषेक घिमिरेले ओजस्वीको कार्यक्रमलाई बीबीसी रेडियो कार्यक्रमसँग तुलना र तारिफ गरी आफ्नो फेसबुकवालमा लेखेपछि ओजस्वीको ओज झ्न बढेको सत्य हो । 

ओजस्वीले सुरुमा पाल्पा, तानसेनको जेभीटी स्कूलमा पढिन् । करिव एक सेसन होराईजन आवासीय मावि, पाल्पामा पढिन् तर यतिबेला सरकारी विद्यालयमा नै पढ्दा गौरव गर्दैछिन् । हुन त उनलाई होराईजनका प्राचार्य भेषराज सुवेदी सरको सहयोगी भावना असाध्यै मन परेको रहेछ । पढ्नमा अब्बल छिन् ओजस्वी । कक्षा ८ बाट उत्तीर्ण हुँदा उनले चार जीपीए ल्याएकी थिइन् । अनुशासित छिन् । साथीहरुसँग मिल्छिन् । तैपनि आफूजस्तै चार जीपीए ल्याएर सँगै पढ्ने साथीहरुसँग स्वस्थ शैक्षिक प्रतिस्पर्धा हुने नै भयो । यतिबेला उनीहरु मिनी टिचर समेत हुन् । किशोर अवस्थामा चञ्चले स्वभाव रहेको बताउने ओजस्वीले कहिले के बन्न मन लाग्छ, कहिले के बनौंभन्ने लाग्छ भन्दैथिइन् । तैपनि उनको अन्तिम इच्छा भनेको स्वास्थ्य क्षेत्रमा लागेर सेवा गर्ने नै रहेछ । सम्भवः त उनी चिकित्सक बन्ने छिन् । विरामीहरुको सेवामा समर्पित हुने छिन् । 

ओजस्वीले गृहकार्य र पढ्ने काम भ्याएपछि घरमा भएका दुईवटा कुखुरा र एउटा कुकुरसँग खेल्छिन् । तिनैसँग हावभावले कुराकानी गर्छिन् । पढाइको थकाई बिसाउँछिन् । स्नेहले घरि काखी च्याप्छिन् कुखुरालाई । घरि कुकुरसँग स्नेह बाँड्छिन् । आफूलाई भुलाउँछिन् । जीवनजनावरसँग खेल्नुको मज्जा नै बेग्लै हुने कुरा सुनाउँदै थिइन् उनले । आमालाई समेत सघाउँछिन् । फुर्सदमा प्रेरणा र उर्जा थप्ने खालका सामग्री हेर्छिन् । पढ्छिन् । उनको लगनशीलताको कति तारिफ गर्नु र कमै हुन्छ । गएको चैत्र महिनामा भएको शिक्षक आन्दोलनको विषयलाई लिएर उनले सामयिक प्रवचन दिएकी थिइन् । उनको प्रवचनले तहल्का पिटेको थियो । 

उनको पहाडघर पाल्पा,पूर्वखोलाको रिङ्नेरह हो । उनका बाबा सामाजिक, शैक्षिक र राजनीतिक सचेतक हुन् । काम विशेषले चारैतिर दौडिरहन्छन् । सानैमा ओजस्वी गाउँमै बस्थिन् हजुरआमा सीता आचार्यसँगै । आफ्ना बाबा, जीवन मोटरसाइकिलमा राति आउँदै गर्दा परैबाट झिपीझिपी बत्ती भन्दै चिच्याएर उतै देखाउँथिन् र आफ्नै बाबा आएको ठम्याउँथिन् ओजस्वीले । यो कुरा हजुरआमा सीताले सुनाइरहँदा, ओजस्वी लक्षिनकी थिइन् भन्न भुलिनन् । 

ओजस्वीलाई संसारभर पुराउने छ उनको वाक्कलाले । केही समयपछि उनी धेरै देशमा पुग्नेछिन् । हामीले गौरव गर्न पाउने छौं । उनी देशकै शिखर ब्यक्तित्व बन्ने छिन् । नेपाल र नेपाली भावनालाई संसारभर फैलाउनेछिन् । ओजस्वी भन्दैथिइन्–विदेशमा रहँदा स्वदेशको माया प्रगाढ हुँदोरहेछ । देशको मायाले सताउँदो रहेछ । 

बेलायत बस्ने रामशरण सिंखडा,आफ्ना बाबाआमा,परिवार,स्कुलका सबैप्रति उनी कृतज्ञ छिन् । कक्षा १२ सम्म दमकडा नमूना माध्यमिक विद्यालयमा पढ्ने प्रतिवद्धता जनाएकी छिन् । विद्यालयको शिर उँचो राख्न सदैव गतिशील र क्रियाशील रहँदै आफ्नो पढाइलाई निरन्तर अघि बढाउने ओजस्वीको संकल्पले सार्थकता पाओस्

। शुभेच्छा ।