Hamro Goreto
स्मृतिमा मेरा काका
Sunday, 08 Jun 2025 00:00 am
Hamro Goreto

Hamro Goreto

 

भक्त बहादुर पाइजा पर्वत, लेखफाँटको कुवापानी गाउँबाट २०४३ साल तिर पोखरा झर्नु भएको हो । हाल पोखरा १५ कोलपाटन निवासी हुनुहुन्थ्यो । सामाजिक कार्यमा समेत उहाँको नेतृत्वदायी भूमिका थियो ।उहाँ धौलागिरी पुन मगर समाजका उपाध्यक्ष समेत रहनु भएको थियो । उहाँमा राजनीतिक चेत समेत थियो परन्तु वर्तमानका घृणित संसदीय अभ्यास उहाँलाई फितिक्कै मन पर्दैनथ्यो ।

काका प्रष्ट बक्ता हुनुहुन्थ्यो । सादा जीवन उचो बिचार राख्नु हुन्थ्यो साथै धेरै नपढे पनि अचेलका धेरै पढेलेखेकाले भन्दा सत बिचार राख्नु हुन्थ्यो । आहार बिहारमा सावधानीका कारण असिको छेउछाउ पनि उत्तिकै फुर्तिला र मादल, बाजाको ताल सुन्यो कि नाँच्नलाई हौसिनु हुन्थ्यो र मरक्क मरक्क कम्मर मर्काइ हाल्नुहुन्थो ।

 पुराना सांस्कृति मास्नु हुन्नु भन्ने मान्यता राख्नु हुन्थ्यो । केही बर्ष अघि उहाँले पुनहरुका पुख्र्यौली नृत्य सोरठी पनि लेखेर प्रकाशन गर्नु भएको छ । हाल बजारमा आएका बग्रेल्ती सोरठीका पुस्तकहरुमा ठेट मौलिकता नभएको उहाँको दाबी थियो । उहाँ पुस्तक अध्ययन र लेखन अनि विचार विमर्श गर्न मन पराउनु हुन्थ्यो । दफा दफामा म किन के कसरी ? भन्ने तर्क राख्नु हुन्थ्यो र घोत्लिनु हुन्थ्यो । सिद्धान्तलाई व्यवहारको तुलोमा जोखेर हेर्नु हुन्थ्यो । काका भारतीय पूर्व सैन्य समेत हुनुहुन्थ्यो । उहाँ पल्टनमा हाजिर हुन जाँदा मधेसको हाम्रो घरमा पसेर जानु हुन्थ्यो । लामो अवधी रहनु पर्दा हाम्रो सिगाने बाख्रालाई लिएर नजिकैको घोलाघोली चराउनु हुन्थ्यो । डुम्रीको डाली भाचेर घास खुलाउनु हुन्थ्यो । म सानै भए पनि काकाको पछि लागेर जान्थे । उहाँको स्वर पनि मिठो थियो । हिन्दी फिलिमका गीतहरु गुनगुनाउनु हुन्थ्यो । “कान्छा रे कान्छी रे पृत मेरा सच्चा, रुक जाना जा दिल टोडके....” “चल चल चल मेरा साथी ओह मेरा हात्ती ...!” त्यस्तै “हे दोस्ती ... हम नही छोडङ्गे ...” “झुठ बोले कौवा काटे ...!” इत्यादि ।

        काका फरासिला पनि भएको हुनाले हर्दियामा सबैले रुचाउनु हुन्थ्यो । खुलाल मामा छेमा, कप्तान्नी छेमा, सिङ्जाली छेमा, मामा, दाउरिनी साइली छेमा सबैका निम्ति हाम्रा काका उत्तिकै प्रिय ।

 काका पल्टनमा गए पछि छुट्टी आउनेहरुसंग नासो पठाउनु हुन्थ्यो । स–साना दुई ÷चार थैली हुन्थ्यो । हतार –हतार खोलेर हेर्दा भित्र चिनी, दानादार चियापत्ती हुन्थ्यो । नरिवलका चिराहरु देख्दा हामी मच्चिएर फुरुङ्ग हुन्थ्यांै । मुख भित्र हालेर काका लाई सम्झदै कुरुक–कुरुक चपाउथ्यौ । गुलियो, रसिलो कम्ती मिठो त हुन्थेन् ।

एक पटक उहाँ पहाड गाउँमा छुट्टी जानु भएको थियो । कुवापानी गाउँ मास्तिरको भीरमा घाँस काटन जाँदा मुन्तिर खसेर पनि धन्न बच्नु भयो ।

काका पेन्सन आउँदा फोटोग्राफी पनि सिकेर आउनु भएको थियो । त्यसैले बक्स क्यामरा लगायत सम्पूर्ण फोटोग्राफी सामग्री समेत बोकेर कुस्मा हँुदै कुवापानीमा उक्लनु भो । घरमा नै सादा फोटो खिच्ने धुलाउने गर्नु हुन्थ्यो । टाढा–टाढाका गाउँबाट समेत मान्छेहरु फोटो खिचाउन आउथे । उनी हरुलाई रातमा बास र गासको व्यवस्था पनि आफै कहाँ गर्नु हुन्थ्यो । फोटो बाहेक सुतेको र खाएको पैसा लिनु हुन्थेन् । यसरी गाम्लेका सेवा गर्नु भएको थियो ।

 २०४३ सालमा काकाको सहयोग नपाएको भए पोखरामा मैले आर्ट स्टुडीयो खोल्ने आट आउने थिएन । त्यसैले पुन आट्र्स स्थापनाको श्रेय उहाँ काकालाई पनि जान्छ । उसो त नदीपुरका ठूला दिदी भेनाको गुनलाई समेत कहाँ भुल्न सक्छु र ?

अन्त्यमा काका हामी माझ नरहे पनि हाम्रो स्मृतिमा सदा रहनेछन् हार्दिक श्रद्धाञ्जली ।