Hamro Goreto
क्षेत्र नं ५ नेकपा एमाले क्षेत्री कमिटी बैठक सम्पन्न एकढिक्का भएर चुनाव जाने
Wednesday, 12 Oct 2022 23:30 pm
Hamro Goreto

Hamro Goreto

एमाले क्षेत्र नं. ५ को चुनावी कमाण्डर खिमलाल भट्टराई
लुम्बिनी, असोज २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमाले निर्वाचन परिचालन कमिटीको नेतृत्व पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले लिनुभएको छ । पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटीको सदस्यमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा विभिन्न कमिटीमा रहेका नेताहरु रहेका छन् । 
अगुवा कार्यकर्ता भेलाले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि वडा तहसम्म निर्वाचन परिचालन कमिटी गठन गर्नुको साथैं नेता÷कार्यकर्ताहरुको जिम्मेवारी बाँडफाँट समेत गरेको छ । भेलाले पार्टीका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बासुदेव घिमिरे तथा प्रदेशसभाका उम्मेदवारद्धय भूमिश्वर ढकाल र रामचन्द्र यादवलाई जिताउन सिङ्गो पार्टीपंक्ति एकताबद्ध भएर जनतामाझ जाने निर्णय पनि गरेको छ । 
भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीका उम्मेदवारलाई जिताउन आ—आफ्नो ठाउँबाट सशक्त भूमिका निर्वाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै उम्मेदवारी चयनमा सन्दर्भमा देखापरेको समस्याको उचित समयमा समीक्षा हुने स्पष्ट पार्नुभयो । 
यस्तै पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले अब आफूले विगत नसम्झिने स्पष्ट पार्दै पार्टीका उम्मेदवारलाई जिताउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने र सोहीअनुसार चुनावी अभियानमा जुट्न अगुवा कार्यकर्तालाई आग्रह गर्नुभयो । पष्ट पार्नुभयो । पार्टी राजनीतिमा व्यक्ति प्रधान नहुने बताउँदै उहाँले लोकतन्त्रलाई अघि बढाउन एमालेको जीत आवश्यक रहेकोले निर्धक्क भएर जनताको घर—घरमा जान अगुवा कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले विगतलाई बिर्सेर चुनावी अभियानमा जुट्नुको विकल्प नभएको बताउँदै पार्टीको निर्णयलाई शिरोधार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 
प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले विगतमा आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई मुलुककैं उत्कृष्ट नगरपालिका बनाएको स्मरण गर्दै विकासको धेरै सम्भावना बोकेको क्षेत्र नं. ५ लाई पनि उत्कृष्ट र विकासको नमूना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादव, भूमिलाल सापकोटा, पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सदस्य हेमा बस्याल, क्षेत्रीय संयोजक जीवनाथ पाण्डे, सहसंयोजक कृष्ण घिमिरे, सचिव भरतमणि सापकोटालगायतले बोल्नुभएको थियो ।